चम्किलो मुस्कान छर्ने त्यो सेतो हिमाल
आज मुस्कुराउन हिच्किचाए जस्तो ।
हाम्रा पाइलालाई पच्छ्याउँदै हिड्ने त्यो चञ्चल बादल
मेरा कदमहरुलाई पच्छ्याउन नचाहे जस्तो ।
संसारलाई उज्यालो बनाउने त्यो किरण
आज किन किन अँध्यारोमै बिलाए जस्तो ।
हे बतास ! पुर्याइदेऊ यो खबर उनीलाई
उनी नहुँदा यहाँ लाग्दछ यो साँसै रोके जस्तो ।
हे बतास ! सुनाइदेऊ मेरो यो व्यथा उनीलाई
एक्लो छु आज म भीडको माझमा हराए जस्तो ।
हिजो सम्म लाग्थ्यो त्यो आकाश पनि कति खुला ।
आज त्यही आकाश साँघुरिदै गएझैँ लाग्छ ।
उनी हाँस्दा उनीसँगै मौसम पनि हाँसेको आभास हुन्थ्यो ।
तर खै किन आज न म हाँसेँ, न मौसम नै हाँस्छ ।
उनको हात मैले थाम्दा चिरबिर गर्दै जिस्काउने ती चरीहरु
आज मैले बोलाउँदा पनि चुपचाप टोलाइरहे जस्तो ।
हे बतास ! पुर्याइदेऊ यो खबर उनीलाई
उनी नहुँदा यहाँ लाग्दछ यो साँसै रोके जस्तो ।
हे बतास ! सुनाइदेऊ मेरो यो व्यथा उनीलाई
एक्लो छु आज म भीडको माझमा हराए जस्तो ।